

तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजलाई केवल नाचगानको पर्वका रूपमा मात्र नलिन आग्रह गरेका छन्। उनले तीजको वास्तविक सार आत्मिक शुद्धता, संयम, आत्मअनुशासन र दाम्पत्य जीवन सुदृढीकरणसँग गहिरो रूपमा जोडिएको स्पष्ट पारेका छन्।
तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, “तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको छ।”
प्रधानमन्त्री ओलीले तीजको ऐतिहासिक र धार्मिक पृष्ठभूमि पनि स्मरण गरे। उनका अनुसार प्राचीन समयमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने परम्परा रहेको पाइन्छ। पछि समयक्रममा महिलामात्रै व्रत बस्ने चलन विकसित भएको उनले बताए। “हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ,” ओलीले उल्लेख गरेका छन्।
उनले वर्तमान समाजमा तीजसँग सम्बन्धित विभिन्न नयाँ धारणा र मतहरू देखा पर्न थालेको स्वीकार गर्दै यसको सकारात्मक पक्षलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।
दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन्, “संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्।”
उनको भनाइमा तीज केवल महिलाको पर्व नभई, परिवार र दाम्पत्य सम्बन्धलाई मजबुत बनाउने अवसर पनि हो।

