

काम गर्ने कर्मचारीलाई टाढा राखेर समृद्धि सम्भव छैनः ऊर्जा मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मेहनत गर्ने कर्मचारीलाई बेवास्ता गरेर सरकारले समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने बताएका छन्।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको ४०औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा ज्यालादारीसहितका कर्मचारीलाई सम्मान गर्दै उनले श्रमको सम्मान नगरी विकास सम्भव नहुने प्रष्ट पारे।
मन्त्री खड्काले प्राधिकरणका कर्मचारीको योगदानकै कारण ऊर्जा क्षेत्रले ठोस प्रगति गरेको उल्लेख गर्दै २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा प्राधिकरणको भूमिका निर्णायक हुने बताए। उनले भारतसँगै बंगलादेशमा विद्युत निर्यात सुरु भइसकेको र आयात घटाउँदै निर्यात विस्तारतर्फ सरकार अघि बढिरहेको जानकारी दिए।
उनले गरिब र विपन्न नागरिकलाई जलविद्युतमा बिना धितो ऋण उपलब्ध गराउने तयारी भइरहेको पनि बताए। बुढीगण्डकी, अप्पर अरुण, तमोर, पञ्चेश्वर, दुधकोशी र पश्चिम सेती जस्ता ठूला जलविद्युत आयोजनालाई द्रुत गतिमा अगाडि बढाइने उल्लेख गर्दै उनले अझै ऊर्जा क्षेत्र सुरक्षित र भरपर्दो रूपमा विकास गर्न चुनौती रहेको स्वीकार गरे।
कार्यक्रममा ५९४ जना दिर्घसेवा कर्मचारी, २९३ जना अवकाश प्राप्त कर्मचारी र अमर विद्युतकर्मीका परिवारलाई सम्मान गरिएको थियो।

