

खुला सीमानाकामा अवैध गतिविधि रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसँग जोडिएका खुला भारतीय सीमा नाकाबाट हुने अवैध कारोबार रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
शुक्रबार मधेश प्रदेश प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्दै उनले राजस्व चुहावटमा संलग्न मुख्य व्यापारीलाई नियन्त्रणमा लिन र कारबाही गर्न आदेश दिए। ओलीका अनुसार खुला सीमाको नाजायज फाइदा उठाएर हुने अवैध गतिविधिले राजस्व संकलनमा कमी आएको छ।
प्रधानमन्त्रीले अवैध सामान र लागुऔषध ओसारपसारमा संलग्न व्यापारीलाई प्राथमिकताका साथ कारबाहीको दायरामा ल्याउन भनेका छन्। साथै उनले मधेश प्रदेशमा निर्दोष व्यक्तिहरू फस्ने र दोषी उम्किने अवस्था रहेको जानकारी आफूलाई प्राप्त भएको बताए।
ओलीले कुनै पनि निर्दोष व्यक्ति अनावश्यक समस्या भोग्न नपरोस् भन्ने गरी काम गर्न सबै निकायलाई आग्रह गरे। समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नयाँ सोच, नयाँ शैली र नयाँ संकल्पसहित कार्य गर्नुपर्नेमा उनले जोड दिए। संवाद, वार्ता र कानुनी प्रक्रियाबाट समाधान गर्न सकिने विषयमा बल प्रयोग नगर्न उनले सबैलाई सचेत गराए।

