

पहिलो राष्ट्रिय कोदो दिवस भोजपुरको आरुखर्कमा भव्य रूपमा सम्पन्न

भोजपुर । कृषि ज्ञान केन्द्र भोजपुरको आयोजना र अरुण गाउँपालिकाको समन्वयमा पहिलो राष्ट्रिय कोदो दिवस विशेष कार्यक्रमको रूपमा सफलतापूर्वक सम्पन्न गरिएको छ।
भोजपुरको अरुण गाउँपालिका वडा नं। ५ स्थित आरुखर्कमा आयोजना गरिएको उक्त कार्यक्रम कोदोजन्य परिकारको आहार खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने मूल नाराका साथ सम्पन्न भएको हो।
कार्यक्रममा कोदोलाई पोषणयुक्त परिकारका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले विविध परिकारहरू प्रदर्शन तथा परिकार प्रतियोगिता पनि आयोजना गरिएको थियो। कोदोको ऐतिहासिक, सांस्कृतिक र पोषणीय महत्वबारे कृषिविज्ञ, जनप्रतिनिधि, स्थानीय किसान तथा सरोकारवालाहरूले मन्तव्य राख्दै कोदो उत्पादन र उपभोग बढाउन सबैमा आह्वान समेत गरे।
अर्कोतर्फ, जलवायु परिवर्तनको सन्दर्भमा सहनशील अन्नबालीको रूपमा कोदोको भूमिका उल्लेखनीय रहेको जनाउँदै, सहभागीहरूले स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउन कोदो जस्ता परम्परागत बालीहरूको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेकोमा स्थानियहरुले जोड दिए।
उक्त कार्यक्रममा स्थानीय समुदाय, महिला समूह, कृषक प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागिहरूलाई कोदोजस्ता स्थानीय अन्नबालीको संरक्षण तथा उपयोगमा प्रोत्साहित गर्न विविध जनचेतनामूलक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो।
कृषि ज्ञान केन्द्र भोजपुरले आगामी दिनमा कोदो उत्पादन, प्रशोधन र बजार प्रवर्द्धनमा अझ सहकार्य गर्दै लैजाने प्रतिबद्धता जनाएको छ। कार्यक्रमले भोजपुर जिल्लामा कोदोको सम्भाव्यता उजागर गर्दै खाद्य सुरक्षाको सुनिश्चिततामा टेवा पुर्याउने विश्वास लिइएको छ।

