

सवारी चालक अनुमतिपत्रको बहाल अवधि १० वर्षमा विस्तार

काठमाडौं — नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम गरेको छ। यसअघि ५ वर्षको लागि दिइने लाइसेन्स अबदेखि १० वर्षसम्म मान्य हुनेछ।
सरकारले केही नेपाल ऐनहरू संशोधन गर्न तयार पारेको विधेयक हालै राजपत्रमा प्रकाशित गरेको छ। उक्त विधेयक अन्तर्गत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ उपदफा ३ मा उल्लेखित प्रावधानलाई परिमार्जन गर्दै लाइसेन्सको मान्यकाल दोब्बर बनाइएको हो।
नयाँ व्यवस्थाअनुसार सवारी अनुमतिपत्र नविकरण गरेपछि पनि अब त्यसको मान्यता १० वर्षसम्म रहनेछ। यसले सेवाग्राहीलाई बारम्बार नविकरणको झन्झटबाट छुट दिनेछ।
यस्तै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण सम्बन्धी कार्यमा अब निजी क्षेत्रलाई पनि संलग्न गरिने व्यवस्था समेत विधेयकमा उल्लेख गरिएको छ।

