

अरुण गाउँपालिका–६ जरायोटारमा सामाजिक सुरक्षा भत्ता वितरण तथा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम सम्पन्न

भोजपुर — अरुण गाउँपालिका वडा नं.६ जरायोटारमा आयोजित सामाजिक सुरक्षा भत्ता वितरण तथा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र सेवामुखी स्थानीय शासनको प्रतिबद्धता झल्काउने उक्त कार्यक्रममा करिब १९४ जना लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने ३६ जना नागरिकहरूले राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवा लिएका छन्।
वडा अध्यक्ष गणेश कुमार राईका अनुसार विशेष रूपमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू तथा अशक्त लाभग्राहीहरूलाई घरमै पुगेर सेवा पुर्याउने व्यवस्था गरिएको थियो। यसले कार्यक्रमलाई अझ जनमुखी, संवेदनशील र प्रभावकारी बनाएको महसुस गरिएको छ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य अनिशा विश्वकर्मा र मैना राई वडा सदस्यहरू, प्रशासन शाखा प्रमुख श्यामकुमार राई, वडा सचिव रबि राई, पञ्जीकरण शाखा प्रमुख चिन्तामणि पोखरेल, प्रभु बैंक प्याउली शाखा प्रमुख डिकपाल राई, साथै जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखाबाट खटिएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति र सहयोग रहेको थियो।
राष्ट्रिय परिचयपत्र नभएकै कारण सरकारी सेवाबाट वञ्चित भइरहेका नागरिकहरूलाई समेट्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले सेवा प्रणालीलाई अझ पहुँचयोग्य, समावेशी र नागरिकमैत्री बनाउन योगदान दिएको छ, वडा अध्यक्ष राईले बताए।
स्थानीय तहको समन्वय, प्रशासनिक संयोजन र प्रविधिमैत्री सेवा प्रवाहको सफल नमुना प्रस्तुत गरेको यस कार्यक्रमले सामाजिक सुरक्षा तथा पहिचान सुनिश्चितताका क्षेत्रमा स्थानीय सरकारको सक्रियता झल्काएको छ।

