

पद होइन, काम चाहिएको होः बामदेव गौतम

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आफूलाई पार्टीमा कुनै पदको आवश्यकता नभएको स्पष्ट पार्दै, काम बिना बस्न नसकिने चेतावनी दिएका छन्।
बुधवार कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै गौतमले भने, “पद होइन, काम चाहिएको हो। यदि काम दिन सकिँदैन भने म लामो समय पार्टीमा बस्न सक्दिन।”
भर्खरै एकीकृत समाजवादीमा प्रवेश गरेका गौतमले पार्टी नेतृत्वसँग आफ्नो लागि जिम्मेवारीसहितको कार्यक्षेत्र दिन आग्रह गरे। उनले भने, “मलाई के पद दिने भन्ने कुरा उठिरहेको छ। मलाई कुनै पद चाहिँदैन। काम दिनुस्। काम गर्नको लागि आवश्यकता अनुसार पद सिर्जना गर्नुस्।”
गौतमले कामविहीन पद आफूलाई अस्वीकार्य रहेको जनाउँदै थपे, “काम बिनाको पद म स्वीकार गर्दिन। त्यस अवस्थामा म पार्टीमा बस्न सक्दिन। मलाई काम गर्ने ठाउँ चाहिएको हो।”
उनले संविधानले उल्लेख गरेको समाजवादको दिशामा अगाडि बढ्दै नेपाललाई समुन्नत समाजमा रूपान्तरण गर्नुपर्ने धारणा पनि राखे।

