

चार दिनमै सय करोड क्लबमा ‘सैयारा’

सांगीतिक प्रेमकथामा आधारित बलिउड फिल्म ‘सैयारा’ले रिलिज भएको चार दिनमै सय करोड क्लबमा प्रवेश गर्न सफल भएको छ। यस फिल्मले घरेलु बक्स अफिसमा जम्मा १ सय ७ करोड २५ लाख भारतीय रुपैयाँको नेट कलेक्सन गरेको हो।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘सैयारा’ले पहिलो दिनमै २१.५ करोड रुपैयाँ कमाएको थियो। त्यसपछिका दिनहरूमा यसको कमाइ क्रमशः शनिबार २६ करोड, आइतबार ३५.७५ करोड र सोमबार २४ करोड रुपैयाँ रहेको थियो। करिब ४५ करोड रुपैयाँको बजेटमा निर्माण गरिएको यस फिल्मले छोटो समयमै लागतभन्दा दोब्बरभन्दा बढी कमाइ गरिसकेको छ।
‘सैयारा’ सन् २०२५ को सबैभन्दा सफल फिल्म मात्र होइन, नयाँ कलाकारहरूको अभिनय रहेको हिन्दी फिल्ममध्ये सबैभन्दा धेरै कमाइ गर्ने फिल्म पनि बनेको छ। यसमा अहान पाण्डे र अनीत पड्डा मुख्य भूमिकामा छन्। यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई चर्चित निर्देशक मोहित सुरीले निर्देशन गरेका हुन्, जो ‘एक भिलेन’, ‘आशिकी २’, र ‘आवारापन’जस्ता हिट फिल्महरूको निर्देशनका लागि परिचित छन्।
अहान पाण्डेको यो डेब्यु फिल्म हो भने अनीत पड्डा यसअघि काजोलसँगको वेब सिरिज ‘बिग गर्ल्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’मा देखिइसकेकी छिन्। दुबै कलाकारहरूको अभिनयलाई दर्शक र समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

