

विश्वप्रकाशको एमालेलाई चेतावनी: “गठबन्धनको भरमा सबै कुरा पचाइन्छ भन्ने सोच गलत”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेसँगको गठबन्धनका कारण कांग्रेसले हरेक प्रस्ताव सहजै स्वीकार गर्छ भन्ने सोच राख्नु गलत हुने बताएका छन्।
बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार–बीपी विचार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै शर्माले भूमि विधेयक पारित गर्न गरिएको हतारप्रति गम्भीर आपत्ति जनाए।
उनले भने, “भूमि विधेयक हतारोमा लटरपटर गरेर हुँदैन। समितिमा गहिरो छलफल गरेर दलहरूबीचको विमति कम गर्दै अघि बढ्नुपर्छ। सहकार्य छलफलबाटै सम्भव हुन्छ, गठबन्धनको भरमा जे ल्यायो, त्यही पचाइन्छ भन्ने हुँदैन।”
शर्माले समितिमा छलफलविना भूमि विधेयक पास हुन नसक्ने स्पष्ट पारे। प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा भूमि व्यवस्थापन तथा सहकारी मन्त्री बलराम अधिकारीले अनावश्यक हतार गरेको उनको आरोप छ।
त्यसैगरी, उनले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित संघीय निजामती सेवा विधेयकमा एमाले सांसदले संशोधन हालेको विषयमा पनि आपत्ति जनाउँदै विधेयक प्रक्रिया प्रतिकूल ढंगले अघि बढेको बताए।

