

विद्यालय कक्षाकोठामै शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला, आत्महत्या दुरुत्साहनमा मिटरब्याजी पक्राउ

जनकपुरधाम — धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको कक्षा कोठामा शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
मृतक ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर सोही विद्यालयमा बाल विकास कक्षामा अध्यापन गर्दै आइरहेकी थिइन्। साउन १ गते बिहान करिब ४:४५ बजे विद्यालयको बाल विकास कक्षा कोठामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
सुसाइड नोटसहितको प्रमाण भेटियो
घटनास्थल नजिकै पार्क गरिएको मगरको स्कुटी (ज ११ प ७४९२) को डिक्कीमा प्रहरीले सुसाइड नोट फेला पारेको छ। प्रारम्भिक अनुसन्धानमा उनी जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय मिटरब्याजी राजकिशोर यादवसँग लिएको ऋणका कारण मानसिक तनावमा रहेको खुलेको छ।
ऋण तिरे पनि निरन्तर दबाब
प्रहरीका अनुसार मृतक मगरले यादवबाट ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण चुक्ता गरिसकेपछि पनि यादवले खाली चेकमार्फत ४५ लाख रुपैयाँको बार्गेनिङ गर्दै आएका थिए। उनले पटक–पटक मानसिक यातना, धाक–धम्की र बेइज्जती गर्ने चेतावनी दिएको प्रारम्भिक अनुसन्धानले देखाएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
आरोपित मिटरब्याजी पक्राउ
प्रहरीले साउन २ गते यादवलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ। यादवको घरबाट विभिन्न व्यक्तिका नाममा रहेका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, बैंक भौचर र चेकहरू समेत बरामद गरिएको छ।
परिवारको भनाइ
परिवारजनका अनुसार मृतक मगरले लिएको ऋणको विषयमा धेरै सदस्यलाई जानकारी थिएन। यादवले असार ३२ गते घरमै पुगेर पैसा तिर्न दबाब दिँदै चेक बाउन्स गराएर जेल हाल्ने धम्की दिएको बताएका छन्।

