

एमाले सचिवालय बैठक च्यासलमा सुरु, विधान महाधिवेशनको तयारी मुख्य एजेन्डा

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकको मुख्य उद्देश्य आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारी रहेको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीसँगै अन्य महत्वपूर्ण विषयमा पनि छलफल र निर्णय हुनेछन्।
उपप्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। उनी यसअघि नै विधान संशोधन समिति संयोजक तोकिएका थिए।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
साथै,भोलि साउन २ गते बस्ने पोलिटब्युरो बैठक, साउन ५ गतेको केन्द्रीय कमिटी बैठकका कार्यसूचीहरू पनि आजको बैठकले तय गर्नेछ।
एमालेले यसअघि नै दोस्रो विधान महाधिवेशन गोदावरी, ललितपुरमा आयोजना गर्ने निर्णय गरिसकेको छ।

