

अरुण गाउँपालिकामा कर्मचारीको सेवा करार म्याद थप तथा कार्यसम्पादन सम्झौता सम्पन्न
भोजपुर । भोजपुरको पुर्बी अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पालिका मातहतका अस्थायी तथा स्थायी कर्मचारीहरूको ६ महिनाको सेवा करार म्याद थप तथा कार्यसम्पादन सम्झौता गरेको छ।
पालिका कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले अस्थायी कर्मचारीको नियमित प्रक्रिया अनुसार सेवा करार म्याद थप र स्थायी कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, गाउँसभाबाट पारित नीति, योजना तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयमै म्याद थप गरिएको हो। साथै उहाँले कर्मचारीहरूलाई नीति, नियमको पालना गर्दै कार्यालय समयमा अनावश्यक सामाजिक सञ्जालको प्रयोग नगर्न पनि सुझाव दिनुभयो।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शालिकराम खत्रीले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, पूर्वाधारलगायत क्षेत्रमा राखिएका लक्ष्यहरू प्राप्त गर्न जनप्रतिनिधि र कर्मचारीबीच साझा धारणा आवश्यक रहेको बताउनुभयो। विकास निर्माणमा निर्वाचित र नियुक्त दुवै जनशक्तिको प्रतिबद्धता अपरिहार्य रहेको खत्रीले बताए ।
उपाध्यक्ष विनिता ढकालले समस्या समाधानका लागि सरोकारवालाबीच समन्वय, सहकार्य र एकतामा जोड दिनु भयो। साथै, केही कर्मचारीमा देखिएको अनुशासनहीनता सच्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा वडा नं २ का अध्यक्ष इन्द्र पुलामी, वडा नं ३ का अध्यक्ष कुमार कार्की, वडा नं ४ का अध्यक्ष जंगबहादुर राई, वडा नं ५ का अध्यक्ष युवराज ढकाललगायतले आ–आफ्नो धारणा राख्दै कर्मचारीले नीति, नियम अनुसार जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभयो।
शिक्षा शाखा प्रमुख मोहन सिंह साउदले सेवा करार म्याद थप तथा कार्यसम्पादन सम्झौताले कर्मचारीहरूलाई पदीय जिम्मेवारीप्रति थप प्रोत्साहन मिलेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमपछि बृहत् कर्मचारी बैठकसमेत सम्पन्न भएको थियो, जहाँ सबै कर्मचारीहरूले जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए। कार्यक्रम पालिका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, शाखा प्रमुख, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

