

कपुरकोटको चोरखोला क्षेत्रमा पहिरो दाङ–सल्यान सडक अवरुद्ध

दाङ, असार – अविरल वर्षाका कारण दाङ–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–४ स्थित चोरखोला क्षेत्रमा ठूलो पहिरो खस्दा दुवै तर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
आईतबार रातिदेखि लगातार परेको वर्षाले चोरखोला सडक क्षेत्रमा पहिरो झरेको हो। सडकमा खसेको माटो र ढुंगाका कारण हलुका सवारी साधन समेत सञ्चालनमा आउन सकेका छैनन्।
स्थानीय प्रशासनका अनुसार डोजर तथा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने प्रयास जारी भए तापनि लगातार वर्षा भइरहेकोले काममा कठिनाइ उत्पन्न भएको छ।
सडक अवरुद्ध हुँदा दाङ र सल्यान जिल्लाका यात्रुहरू तथा मालसामान ढुवानीमा समस्या उत्पन्न भएको छ। सडक खुलेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ
प्रमुख जिल्ला अधिकारीका अनुसार, “सडक खुलाउने प्रयास तीव्र पारिएको छ। यथाशीघ्र यातायात सुचारु गर्ने लक्ष्य राखिएको छ।”
स्थानीय बासिन्दा र यात्रुहरू असुविधामा परेपछि सम्बन्धित निकायसँग तत्काल पहल गर्न आग्रह गरिएको छ।
मौसम विभागले आगामी केही दिन अझै भारी वर्षा हुने पूर्वानुमान गरेकाले पहिरोको जोखिम अझै उच्च रहेको जनाइएको छ। यात्रुहरूलाई सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।

