

न्यायमा सर्वसाधारणको पहुँच घट्दैछ : सांसद ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं, असार १६ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्याय प्रणालीप्रति सर्वसाधारणको पहुँच कमजोर हुँदै गएको गम्भीर टिप्पणी गरेका छन्। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले वर्तमान न्यायिक प्रक्रियाले आम नागरिकको भरोसा घटाएको उल्लेख गरे।
सांसद कार्कीले सर्वोच्च अदालतमा धेरै मुद्दाहरू लामो समयदेखि विचाराधीन अवस्थामा रहेको बताउँदै न्याय पाउने अधिकार व्यवहारमा कमजोर हुँदै गएको चिन्ता व्यक्त गरे।
उनले भने, “न्याय ढिलो हुनु भनेको अन्याय हुनु हो। सर्वसाधारणले अदालतमा पुग्दा सुनुवाइसम्म पुग्न मुस्किल पर्ने अवस्था गम्भीर समस्या हो।”
सांसद कार्कीद्वारा न्याय प्रणाली सुधारको सुझाव
कार्कीले न्यायालयभित्रको ढिलासुस्ती, पहुँचका आधारमा हुने व्यवहार र मुद्दा टुंग्याउन लाग्ने समयप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले न्यायिक संरचनालाई दक्ष, पारदर्शी र जनमैत्री बनाउनु आजको आवश्यकता भएको बताए।
उनले सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको उपयोग, जनशक्ति वृद्धि, र केस ट्र्याकिङ प्रणालीलाई सुदृढ गर्नुपर्ने धारणा पनि बैठकमा राखे।
संसदीय सुनुवाइ समितिमा सहभागी अन्य सांसदहरूले समेत न्यायमा जनसाधारणको पहुँचका सवालमा सरोकार राख्दै सुधारको माग गरेका थिए।

