

समीक्षा र एलिनाको प्रतिकार चरित्र हत्या र ट्रोलिङ्गविरुद्ध महिलाहरूको सशक्त जवाफ

काठमाडौं,
सामाजिक सञ्जालको दुरुपयोग र निरन्तर चरित्र हत्या झेल्दै आएकी गायिका समीक्षा अधिकारीले अहिले भने आत्मबल जुटाउँदै ट्रोलरहरूविरुद्ध कडा प्रतिकार सुरु गरेकी छन्। न्यायिक लडाइँमा होमिएको संवेदनशील बेलामा, समर्थनको साटो सामाजिक सञ्जालबाट उनैमाथि गलत आशयको टिप्पणी, ट्रोल र मनोवैज्ञानिक दबाब आइपरेपछि उनले मौनता तोड्दै सक्रिय र प्रतिकारात्मक धार लिएकी हुन्।
उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका अश्लील टिप्पणीहरूलाई स्क्रिनसटसहित सार्वजनिक गर्दै ती व्यक्तिहरूको वास्तविक पहिचानसमेत खुलासा गर्न थालिन्। हालै एक प्रयोगकर्ताले उनलाई ‘१० लाख’ भन्ने अशोभनीय टिप्पणी गरेपछि, समीक्षा उक्त प्रयोगकर्ताको प्रोफाइलमा गई उनले दुई छोरी भएका कुरा पत्ता लगाइन्। त्यसपछि समीक्षा अधिकारीले सोधिन्, “भोली तपाईँकी छोरीलाई पनि यही भोग्नुपर्यो भने?” सो प्रश्नपछि सम्बद्ध प्रयोगकर्ताले माफी मागे।
सामाजिक सञ्जालमा सचेत प्रतिकार
समीक्षाको यो सशक्त प्रतिकार पछ्याउँदै अर्की चर्चित गायिका एलिना चौहानले पनि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको पहिचान खुलासा गर्न थालेकी छन्। उनले बुधबार एक अशोभनीय प्रतिक्रिया दिने प्रयोगकर्ताको नाम, प्रोफाइल लिङ्कसहित सार्वजनिक गर्दै ती क्रियाकलापको विरोध जनाइन्। त्यसलगत्तै, उनले एकपछि अर्को गर्दै विभिन्न गाली गलौज गर्ने प्रयोगकर्ताहरूको परिचय पनि सार्वजनिक गर्दै आएकी छन्।
गायिकाहरूको यो सहासिक कदमसँगै, सामाजिक सञ्जाल प्रयोगकर्तामाझ सचेतना र डरको वातावरण सिर्जना हुन थालेको देखिन्छ। समीक्षालाई ट्रोल गर्नेहरूले तत्काल माफी मागेका छन् भने एलिनालाई समेत केही प्रयोगकर्ताले माफीको अडियो सन्देश पठाएका छन्।
यो प्रवृत्तिमा अभिनेत्री ऋचा शर्मा र टिकटकर प्रिज्मा खतिवडासमेत लामो समयदेखि सक्रिय छन्। उनीहरूले सामाजिक सञ्जालमा आफूलाई लक्षित अश्लील टिप्पणी र व्यक्तिगत आक्षेप गर्नेहरूलाई सार्वजनिक गर्दै आएका छन्। यसरी लगातार सार्वजनिक आलोचनाविरुद्ध महिला कलाकारहरूको प्रतिकारात्मक अभियानले डिजिटल प्लेटफर्ममा दुर्व्यवहार नियन्त्रणमा टेवा पुयाउने विश्वास गरिएको छ।
प्रतिक्रियाका रूपमा, धेरै प्रयोगकर्ताले समीक्षा र एलिनाको पहलको प्रशंसा गर्दै सकारात्मक टिप्पणी गरेका छन्। भने केही प्रयोगकर्ताहरूले भने अझै पनि पुरानै शैलीमा ट्रोलिङ्ग गर्न छाडेका छैनन्। यस्ता नियोजित साइबर दुर्व्यवहारलाई कानुनी हिसाबले समेत कारबाहीमा ल्याउन सकेमा मात्रै यो समस्याको दीर्घकालीन समाधान सम्भव देखिन्छ।

