

सल्यानका सयभन्दा बढी बस्ती डुबान र पहिरोको उच्च जोखिममा

सल्यान, – लगातारको वर्षासँगै सल्यान जिल्लामा बाढी, पहिरो र डुबानको जोखिममा परेका सयभन्दा बढी बस्तीहरू अझैसम्म सुरक्षित स्थानमा स्थानान्तरण हुन नसकेको पाइएको छ। जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको यो समस्या समाधान नभएसम्म हजारौं परिवार प्रत्यक्ष जोखिममा परिरहेका छन्।
शारदा नगरपालिका–१२ रेशमखोलामा आएको बाढीले वर्कसप र मर्मतका लागि राखिएको बोलेरो जिप आधा पुरिएर क्षति पुर्याएको छ भने अन्य सामग्री बगाएको जनाइएको छ। यही क्रममा शारदा–१ भगवती खोलामा आएको बाढीले चार घर र एक पसलमा क्षति पुर्याएको छ।
कपुरकोट गाउँपालिकाको मुख्य बजार पहिरोको उच्च जोखिममा छ। खारा पहिरोको असरले हालसम्म आधा दर्जन घर भत्किएका छन् भने दर्जनभन्दा बढी चर्किएका छन्। यद्यपि, त्यहाँका बासिन्दा जोखिम मोलेर त्यही चर्किएको घरमा बस्न बाध्य छन्।
‘स’ बाट केन्द्रित – सल्यानमा स्थानान्तरणको समस्या ज्यूँका त्यूँ
जिल्लामा रहेका १० वटै स्थानीय तहमध्ये १९ बस्ती बाढी, ७३ पहिरो र ११ डुबानको जोखिममा छन्। तीमध्ये ३५ बस्तीहरू उच्च जोखिममा परेका हुन्। करिब ४ हजार परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
शारदा नगरपालिकामा श्रीनगर बजार, शान्तिनगर, रेसमज्युला, रामेखोला, ज्वालापुर, खैराबाङ, स्यानीखाल लगायतका क्षेत्र प्रभावित छन्। त्यस्तै बन्गाडकुपिण्डे नगरपालिकामा गैरीबजार, नाथेखोला, गर्चे, रैकर, मैनेनी, निगालचुला लगायतका बस्ती उच्च जोखिममा छन्।
बागचौर नगरपालिकाका दोभानबजार, सिमखोली, मौरीघारे, कुइयापानी, चिसापानी, जमरा लगायतका बस्ती जोखिममा छन्। त्रिवेणी गाउँपालिकामा रिखेबजार, ढुंगीबगर, कालापोखरा, टाटके, श्रीचवर लगायत क्षेत्र प्रभावित छन्।
स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले बस्ती स्थानान्तरणको खाका तयार पार्न नसक्दा बर्सेनि समस्या दोहोरिइरहेको स्थानियवासीहरूको गुनासो छ। राहत तथा पुर्नस्थापना योजनामा ढिलासुस्ती हुँदा बाढी–पहिरोको जोखिम झन् भयावह बन्न थालेको छ।
प्राविधिक अध्ययन, पूर्वसूचना प्रणाली र स्थायी स्थानान्तरण योजना आवश्यक भए तापनि कार्यान्वयन पक्ष कमजोर देखिन्छ। अधिकांश बस्तीहरू विगतदेखि नै जोखिममा परेका भए पनि संरचनागत व्यवस्थापनको अभावले जोखिम न्यूनीकरणमा सन्तोषजनक उपलब्धि हासिल हुन सकेको छैन।

