

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन हुने उद्योग आजदेखि सञ्चालनमा आएको छ।

काठमाडौं, – नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन हुने उद्योग आजदेखि सञ्चालनमा आएको छ। आइएमई ग्रुपको करिब डेढ अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.ली रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा सञ्चालनमा आएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित विशेष समारोहमा उद्योगको औपचारिक उद्घाटन गर्दै उत्पादन तथा बिक्री प्रक्रिया सुरु भएको घोषणा गर्नुभयो।
मन्त्री भण्डारीले आधुनिक प्रविधिमा आधारित, वातावरणमैत्री र गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने उद्योगको स्थापना नेपालको औद्योगिक विकासका लागि एउटा महत्वपूर्ण मोड भएको बताउनुभयो। “यसले आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो र आत्मनिर्भर बनाउने दिशामा मार्गनिर्देशन गर्छ,” उहाँको भनाइ थियो।
फाइबर आधुनिक निर्माण प्रविधिको नयाँ अध्याय
आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतमा आधारित रहेर स्थापना गरिएको जानकारी दिनुभयो।
उहाँले यस उद्योगबाट रोजगारी सिर्जना, विदेशी मुद्रा बचत, र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रत्यक्ष योगदान पुग्ने उल्लेख गर्नुभयो। “स्वदेशी सीप र स्रोतको भरमा पनि अन्तर्राष्ट्रिय स्तरको उत्पादन सम्भव छ भन्ने यो उद्योगले प्रमाणित गरेको छ,” अध्यक्ष ढकालले भन्नुभयो।
उद्योगले पूर्णरूपमा अटोमेटेड प्रविधिमा आधारित प्रक्रिया अपनाएको छ — कच्चा पदार्थ मिसावटदेखि कटिङ, प्रेसिङ, ड्राइङसम्मका सबै प्रक्रिया यान्त्रिक रूपमा सञ्चालन हुन्छन्।
दैनिक ७५ हजार स्क्वायर फिट उत्पादन क्षमता भएको यो उद्योगले ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइका बोर्ड उत्पादन गर्छ।
उत्पादित फाइबर सिमेन्ट बोर्डहरू लचकदार, अग्नि प्रतिरोधी, घाम–पानीबाट असर नपर्ने, वातावरणमैत्री तथा टिकाउ छन्। तिनीहरूको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, इको प्यानल, मोडुलर किचन, र यहाँसम्म कि पूर्ण संरचना निर्माणमा समेत गरिन्छ।
प्राकृतिक प्रकोपको बेला छिटो, सस्तो र दिगो संरचना बनाउन सकिने भएकाले यसको माग देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो छ। प्लास्टर तथा रङ्गको आवश्यकता नपर्ने भएकाले लागतमा बचत हुने उल्लेखनीय पक्ष हो।
हाल उद्योगले करिब २०० जना जनशक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा रोजगारी दिएको छ, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय बासिन्दा छन् भने ४० प्रतिशतभन्दा बढी महिला कामदार रहेका छन्।
एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लीले गुणस्तर, नवप्रवर्तन र स्वदेशी उत्पादनमा केन्द्रित रही निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।

