

प्रधानमन्त्री ओलीले सुरु गरे देशभर एचपीभी खोप अभियान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु गरेका छन्।
बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन्।
खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप लगाउन आग्रह गरे। उनले यो अभियान सफल बनाउन पनि सबैसँग अनुरोध गरेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आजबाट सुरु भएको खोप अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुने छ। देशभरका १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने छ।
यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान हो। देशभरका करिब १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको यस अभियानले एचपीभी खोपको कभरेज बढाउने र नेपालमा पाठेघरको मुखको क्यान्सरको भारलाई न्यूनीकरण गर्न उल्लेखनीय रहने मन्त्रालयले जनाएको छ।

