

अरुण गाउँपालिका ३ मर्याङडाँडामा स्तूप (छोर्तेन) प्राणप्रतिष्ठा तथा बृहत् बौद्ध ध्यान शिविर माघ १२ र १३ गते सञ्चालन हुने

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिका ३ मर्याङडाँडामा रहेको अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानले स्तूप (छोर्तेन) प्राणप्रतिष्ठा तथा बृहत् बौद्ध ध्यान शिविरको आयोजना गरेको छ । माघ १२ र १३ गते भव्य समारोह गरी कार्यक्रम हुने भएको छ ।
बौद्ध धर्मका विशिष्ट ज्ञाता लोचवा पुण्यप्रसाद पराजुलीको संयोजकत्वमा नेपाल बौद्ध संघ लगायत विभिन्न दाताहरुको सहयोगमा निर्माण सम्पन्न भएको स्तूप (छोर्तेन) को विश्वप्रसिद्ध खेन्पो पेमा होसेर रिन्पोछे र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको संयुक्त बाहुलीबाट स्तूपको उद्घाटन हुने कुरा प्रतिष्ठानका सचिव आचार्य सोमनाथ कोइरालाले जानकारी दिए । सो कार्यक्रममा खेन्पो नरेश गुरुङ् लगायत लामाहरुबाट विशेष पूजन हुनेछ । १२ गते पूजा तथा प्रवचन हुनेछ भने १३ गते विभिन्न जिल्लाबाट आउने बौद्ध धर्मावलम्बीको समेत उपस्थिति रहनेछ । अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानको आयोजना र बुद्ध प्रकाश फाउन्डेसनको प्रायोजनमा कार्यक्रम तय गरिएको प्रतिष्ठान अध्यक्ष चूडामणि दाहालले जानकारी दिए । सो कार्यक्रममा बौद्ध धर्मका धर्मप्रचारक ज्यो। विद्वान राजेन्द्र लामा स्याङबो, बुद्ध प्रकाश फाउन्डेसनका कार्यकारी निर्देशक अरुण पौडेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति हुनेछ ।
हिन्दु,बौद्ध ,किराँत लगायत विभिन्न धर्ममा आस्था राख्ने व्यक्ति व्यक्तित्वलाई सादर निमन्त्रणा गरिएको छ ।

