

निलम्बित प्रहरी निरीक्षक शाहीलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक इन्स्पेक्टर बिनुकुमारी शाहीलाई प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ ।
बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । उक्त घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो ।
छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमै राखेर थप अनुसन्धान गर्ने निर्णयमा प्रहरी पुगेको छ । उनीलाई पक्राउ गर्न अदालतले अनुमति दिइसकेको ललितपुर प्रहरी कार्यलयले जानकारी दिएको छ । ललितपुर प्रहरीले अनुसन्धान गरिरहेका बेला प्रहरी प्रधान कार्यालय, नक्सालले समेत यो मामलामा जाँच गर्न एक जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको नेतृत्वमा समिति बनाएको थियो ।
हनी ट्र्यापमा पारेर पैसा असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले घटनाको छानबिनका लागि ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा बनेको समितिले प्रतिवेदन बुझाएको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको बताएको छ ।
ललितपुर प्रहरी कार्यलयको अनुसार, उनले शंकास्पद गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको अरोप छ । प्रहरीका अनुसार, शाही नेतृत्वको प्रहरी टोलीले ७ असोजमा एक जना व्यवसायीलाई शान्ति सुरक्षा असर पुर्याएको कसुरमा पक्राउ गरेको थियो । पछि बलात्कार मुद्दामा फसाइदिने भन्दै लेनदेन गरेको आरोप छ ।
उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । प्रहरीले यो घटनामा मुछिएका शाहीका सवारी चालक समेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । अहिले थप प्रकरणमा मुछिएका केही व्यक्ति भने फरार रहेको छन्।
यो मामलामा टिप्पणी गरेको विषयलाई लिएर शाहीले स्थानीय पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरविरुद्ध विद्युतीय् अपराधको कसुर गरेको आरोपमा उजुरी दिएकी थिइन् र दुवै जना पक्राउ परेका थिए ।
शाही जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत् रहँदा समेत विवादमा मुछिएकी थिइन् ।
२०८० सालको माघ महिनामा एक जना प्रहरी जवान राजेन्द्र नाथले एउटा भिडियो सार्वजनिक गर्दै शाहीले दिएको यातनाका कारण आफू जागिर छाड्न बाध्य भएको बताएका थिए । शाही त्यसबेला जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा मुद्दा शाखामा कार्यरत् थिइन् ।

