

रसियन पर्वतारोहीको शव काठमाडौं ल्याइयो

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ५ जना रसियन पर्वतारोहीको शवमध्ये एकजनाको शव काठमाडौं ल्याइएको छ ।
मृतकको शव त्रिविवि शिक्षण अस्पतालमा राखिएको छ भने बाँकीको शव पनि ल्याउने तयारी भइरहेको छ । ७ हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् । आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए ।
जसमा दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । यसअघि भने शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो ।

