

काठमाडौंकेन्द्रित आन्दोलन गर्ने छिन्नमस्ताका जनप्रतिनिधिको चेतावनी

सप्तरी । सप्तरीको छिन्नमस्ता शक्तिपीठसम्म पुग्ने रुपनी–छिन्नमस्तादेखि भारतीय नेउर बोर्डरसम्मको सडक तोकिएको समयमा निर्माण नभएपछि छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरू आन्दोलित बनेका छन्।
जनप्रतिनिधिहरूले अब सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल र भारत दुवैतर्फबाट शक्तिपीठ जोड्ने सडक निर्माण नहुँदा पर्यटकहरूलाई आवागमनमा समस्या भएको भन्दै स्थानीयवासी र जनप्रतिनिधिले आन्दोलन गर्दै आएका छन्।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आइतबार सामाजिक सञ्जालमार्फत आन्दोलनमा साथ दिन पालिकावासीलाई आग्रह गरेका छन्।
‘सडक निर्माणको ठेक्का लागेको छ, काम कछुवाको गतिमा भइरहेको छ, सडकमा चारैतिर खाल्डाखुल्डी मात्रै छन्। दैनिक सवारी दुर्घटना भइरहेको छ,’ उनले लेखेका छन्, ‘सडक बनाइदिन सडक डिभिजन कार्यालय लहानमा पटक–पटक आग्रह गऱ्यौँ, जनप्रतिनिधिहरू सडक डिभिजनमा धर्ना बस्यौँ, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर भन्यौँ। तर केही हुन सकेन।’
सडकको दूरवस्थाका कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजन र पर्यटकहरूको संख्यामा कमी आएको बताउँदै गाउँपालिका अध्यक्ष चौधरीले राजविराज–छिन्नमस्ता–नेउर सडक निर्माणका लागि सिंहदरबार र संघीय संसद् वरिपरि आन्दोलन गर्ने बताएका छन्।
छिन्नमस्ताका जनप्रतिनिधिहरूले सडक डिभिजन कार्यालय लहान अगाडि धर्ना दिँदै आएका थिए। तर, त्यसको प्रभाव नदेखिएपछि काठमाडौंकेन्द्रित आन्दोलनको चेतावनी दिएका हुन्।
सडक डिभिजन कार्यालयले २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा साह इन्जिनियरिङ प्रालिलाई सडक निर्माणको ठेक्का दिएको थियो। तर, गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने सडकमा हालसम्म १३.३३ प्रतिशत मात्रै काम भएको छ।

