

जेनजी आन्दोलन क्षति : छिन्नमस्ता गाउँपालिकाबाट ५ लाख ५१ हजार सहयोग

काठमाडौं । छिन्नमस्ता गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि पाँच लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब–भत्ता बराबरको रकम राष्ट्रिय पुनर्निर्माण कोषमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीका अनुसार गाउँपालिका पारदर्शिता, सुशासन र जनमुखी सेवा प्रवाहमार्फत पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियतापूर्वक अघि बढ्नेछ । नागरिकलाई कुनै असुविधा नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवाप्रवाह गर्दै आएको गाउँपालिका अझ परिस्कृत ढंगबाट सेवाप्रवाह गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा सिंहदरबारसहित देशभरका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

