

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच ताल संरक्षण तथा रोजगारी सिर्जनामा समझदारी

पोखरा । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बीच वातावरण तथा पर्यावरण संरक्षणमा सहकार्य गर्ने उद्देश्यसहित औपचारिक समझदारी भएको छ। यस समझदारीअन्तर्गत महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ, वातावरणीय सुधार तथा स्थानीय स्तरमा रोजगारी सिर्जनाका कार्यक्रमहरू सञ्चालन गरिने छन्।
सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गरेका छन्। दुवै संस्थाले ताल संरक्षण, प्रदूषण नियन्त्रण, हरित पूर्वाधारको प्रवर्द्धन तथा सामुदायिक सहभागिता सुनिश्चित गर्न दीर्घकालीन योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस सहकार्यले पोखराका तालहरूलाई पर्यटनको प्रमुख आकर्षणका रूपमा दीर्घकालीन रूपमा सुरक्षित राख्ने र स्थानीय युवालाई रोजगारको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ। महानगर र निजी क्षेत्रको यो साझेदारीलाई वातावरण संरक्षणको प्रभावकारी मोडेलका रूपमा हेरिएको छ।
यस साझेदारी अन्तर्गत विशेषगरी फेवाताल, बेगनासताल, रुपाताल लगायतका पोखराका महत्वपूर्ण जलाशयहरूको नियमित सरसफाइ, जलगुणस्तर मापन, फोहोर व्यवस्थापन, र हरित प्रविधि प्रयोगमा जोड दिइनेछ। साथै, ताल संरक्षणसँग सम्बन्धित जनचेतना कार्यक्रम, वातावरण मैत्री रोजगारी र स्थानीय स्रोतसाधनको उपयोगमा प्राथमिकता दिइनेछ।
अध्यक्ष क्षेष्ठका अनुसार, “निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता योजनामा सक्रिय भूमिका खेल्नुपर्छ, जसबाट वातावरण संरक्षण र आर्थिक अवसर दुवै सुदृढ हुन्छन्।” प्रमुख आचार्यले भने, “महानगरका तालहरू केवल प्राकृतिक सम्पत्ति मात्र होइनन्, हाम्रो पहिचान पनि हुन्, त्यसैले संरक्षण हाम्रो प्राथमिक दायित्व हो।”
यो समझदारीले पोखराको प्राकृतिक सुन्दरताको दीर्घकालीन संरक्षणमा योगदान पुर्याउने र वातावरणीय पर्यटनलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।

