

रूसमा पाँच शताब्दीपछि ज्वालामुखी विस्फोट, वैज्ञानिकहरू चकित

काठमाडौं। रूसको पूर्वी छेउको कामचाट्का द्वीपमा अवस्थित क्रशेनिनिकोभ ज्वालामुखीमा करिब पाँच शताब्दीपछि पुनः विस्फोट भएको छ। यो विस्फोट सन् २०२५ अगस्ट २ तारिखका दिन भएको हो, जसले गर्दा करिब ६ हजार मिटर माथिसम्म खरानीको मुस्लो आकाशमा फैलिएको थियो। स्थानीय अधिकारीहरूले हवाई यातायातको सुरक्षाका लागि उक्त क्षेत्रको एयरस्पेस अस्थायी रूपमा बन्द गरेका छन्।
रूसी आपतकालीन मामिला मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्तिमार्फत पुष्टि गरेको छ कि यो ज्वालामुखीले अन्तिमपटक १५ औं शताब्दीमा विस्फोट गरेको थियो। बीबीसीका अनुसार यसपटकको विस्फोटले मानवीय बस्तीहरूमा प्रत्यक्ष असर नगरेको बताइएको छ।
यसै क्षेत्रमा चार दिन अघि ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जुन विश्वको छैटौं शक्तिशाली भूकम्प मानिन्छ। वैज्ञानिकहरूको अनुमान अनुसार यो भूकम्प र ज्वालामुखी विस्फोटबीच सिधा सम्बन्ध हुन सक्ने देखिएको छ।
ओल्गा गिरिना, भल्केनिक इरप्सन रेस्पोन्स टिम (VERT) की प्रमुखले बीबीसीसँग कुरा गर्दै भनिन्, “भूकम्पले टेक्टोनिक प्लेटहरूलाई सक्रिय बनाएर विस्फोट निम्त्याएको हुनसक्छ।”
क्रशेनिनिकोभ विस्फोट र कामचाट्काको भूकम्पबीचको सम्बन्ध
कामचाट्का द्वीप र त्यस आसपासको क्षेत्र विश्वकै भूगर्भीय रूपमा संवेदनशील क्षेत्रहरूमध्ये एक हो। यो क्षेत्र ‘रिंग अफ फायर’ अर्थात् ‘आगोको घेरा’ भित्र पर्छ, जहाँ विश्वका ७५ प्रतिशत सक्रिय ज्वालामुखीहरू अवस्थित छन्। साथै, विश्वका ९० प्रतिशत भूकम्पहरू पनि यही क्षेत्रमा हुने गरेका छन्।
रिंग अफ फायर करिब ४० हजार किलोमिटर लम्बाइमा फैलिएको भूगर्भीय पट्टी हो, जसमा जापान, रूस, फिलिपिन्स, इन्डोनेसिया, न्युजिल्यान्ड, अमेरिका, चिली, पेरु, इक्वेडरलगायत १५ देशहरू पर्छन्।
सन् १९५२ नोभेम्बर ४ मा कामचाट्कामा ९ म्याग्निच्युडको भूकम्प आएको थियो, जसले ९.१ मिटर अग्ला समुद्री छालहरू उठाएको थियो। त्यस घटनामा मानवीय क्षति नभएको इतिहास छ।
जुलाई महिनामै ६ शक्तिशाली भूकम्प
कामचाट्का द्वीप नजिकैको समुद्री क्षेत्रमा जुलाई महिनामै ६ वटा शक्तिशाली भूकम्प मापन गरिएको छ। तीमध्ये एकको तीव्रता ७.४ म्याग्निच्युड रहेको थियो।
अगस्ट २ मा गएको ८.८ म्याग्निच्युडको भूकम्पपछि अमेरिका, जापान, र चिलीजस्ता मुलुकहरूले तत्कालै सुनामी चेतावनी जारी गरेका थिए। जापानले फुकुशिमा परमाणु रिएक्टर खाली गराउँदै लाखौं जनतालाई सुरक्षित स्थानतर्फ सार्ने आदेश दिएको थियो।
विशेषज्ञहरूले भनेका छन् कि भूगर्भीय रूपले जटिल र सक्रिय क्षेत्रमा सानो प्रभावले पनि ठूलो प्राकृतिक दुर्घटनाको रूप लिन सक्छ। कामचाट्का क्षेत्रमा यस्तो क्रियाकलाप सामान्य भए पनि ५०० वर्षपछिको विस्फोट विशेष ध्यान दिनुपर्ने विषय हो।

