

अरुण गाउँपालिका–७ सिक्रेटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ सिक्रेटारमा सामूहिक सहभागिता, वातावरणीय सचेतना र सौन्दर्यकरणको उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वडाको कार्यालय परिसर, स्वास्थ्य संस्था क्षेत्र, बजार आसपासका स्थानहरू लगायत विभिन्न सार्वजनिक स्थलहरूमा विभिन्न जातका बिरुवाहरू रोपिएको हो।
वातावरणीय सन्तुलन कायम गर्दै हरियालीयुक्त वडा निर्माण गर्ने लक्ष्यसहितको यस अभियानलाई डिभिजन वन कार्यालय भोजपुरको समन्वय र सबडिभिजन वन कार्यालय मोरङ, सलकपुरको सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रमका लागि आवश्यक बिरुवा ती निकायहरूबाट उपलब्ध गराइएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य बिमल खड्का, नेपाली कांग्रेस अरुण गाउँपालिका सभापति कुमार राई, नेकपा एमाले कार्यवाहक अध्यक्ष बुद्धिबहादुर खड्का, गाउँ कार्यपालिका सदस्य ललितकुमार राई लगायतको विशेष उपस्थिति रहेको थियो। साथै, बिरुवा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरेका नेकपा माओवादी केन्द्र वडा नं ७ का अध्यक्ष तथा वाईसीएल प्रदेश कमिटी सदस्य सुमन अधिकारीलाई वडाले विशेष आभार व्यक्त गरेको छ।
कार्यक्रममा वडा तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरू, शिक्षक, अग्रज व्यक्तित्वहरू, स्थानीय युवा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वडाध्यक्षका अनुसार यो वृक्षारोपण अभियानको पहिलो चरण मात्रै हो। आगामी दिनहरूमा पनि हरियाली विस्तार र वातावरणीय समृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। वडा कार्यालयले साझा प्रयासमा सबैको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरेको छ।

