

चम्पेमा सामाजिक सुरक्षा भत्ता वितरण तथा राष्ट्रिय परिचयपत्र संकलन कार्यक्रम सम्पन्न

भोजपुर । अरुण गाउँपालिका वडा नं.२ चम्पेमा सामाजिक सुरक्षा भत्ता वितरण तथा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जनमुखी सेवा प्रवाह र नागरिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा १७६ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने ५० जनाले राष्ट्रिय परिचयपत्र विवरण संकलन गराएका छन्।
वडाध्यक्ष इन्द्र बहादुर पुलामी मगरका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त लाभग्राहीहरूलाई लक्षित गरी विशेष व्यवस्था मिलाइएको थियो। “यस किसिमको संवेदनशील र पहुँचयोग्य सेवा प्रवाहले नागरिकहरूमाझ सकारात्मक सन्देश प्रवाह गरेको छ,” उनले बताए।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, प्रशासन शाखा प्रमुख श्यामकुमार राई, वडा सचिव, पञ्जीकरण शाखा प्रमुख चिन्तामणि पोखरेल, प्रभु बैंक प्याउली शाखा प्रमुख डिकपाल राई तथा जिल्ला प्रशासन कार्यालयबाट आएका राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर रोशन गुरागाईंको उपस्थिति रहेको थियो।
राष्ट्रिय परिचयपत्र नभएकाले सरकारी सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गर्दै संचालन गरिएको यो कार्यक्रमले सेवा प्रणालीलाई अझ समावेशी, नागरिकमैत्री र पहुँचयोग्य बनाउने दिशामा टेवा पुर्याएको वडाध्यक्ष मगरको भनाइ छ।
स्थानीय तह, प्रशासनिक संयोजन र प्रविधिमैत्री सेवा प्रवाहको सफल नमुनाका रूपमा प्रस्तुत भएको यो कार्यक्रमले सामाजिक सुरक्षा र नागरिक पहिचान सुनिश्चित गर्नमा स्थानीय सरकारको सक्रियता र प्रतिबद्धता प्रस्ट रूपमा देखाएको छ।

