

चरम्बीमा सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम सम्पन्न

भोजपुर । अरुण गाउँपालिका वडा नं। ४ चरम्बीमा आयोजित सामाजिक सुरक्षा भत्ता वितरण तथा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्वप्रति समर्पित र सेवामुखी स्थानीय शासनको प्रतिबद्धता झल्काउने उक्त कार्यक्रममा १७६ जना लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने ४४ जना नागरिकले राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवा लिएका छन्।
वडाध्यक्ष जंग बहादुर राईका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त लाभग्राहीहरूलाई लक्षित गरी अशक्त हरुलाई यातायात सेवाको विशेष व्यवस्था मिलाइएको थियो। यस किसिमको जनमुखी र संवेदनशील सेवा प्रवाहले कार्यक्रममा सहभागीहरूमाझ सकारात्मक सन्देश प्रवाह गरेको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री, ३ वडा अध्यक्ष कुमार कार्की , गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, प्रशासन शाखा प्रमुख श्यामकुमार राई, वडा सचिव रन्जित चौधरी, पञ्जीकरण शाखा प्रमुख चिन्तामणि पोखरेल, प्रभु बैंक प्याउली शाखा प्रमुख डिकपाल राई, तथा जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर रोशन गुरागाईंको उपस्थिति रहेको थियो।
राष्ट्रिय परिचयपत्र नभएको कारण सरकारी सेवाबाट वञ्चित भइरहेका नागरिकलाई समेट्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो, यसले सेवा प्रणालीलाई अझ समावेशी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको वडाध्यक्ष राईले बताए।
स्थानीय तहको समन्वय, प्रशासनिक संयोजन र प्रविधिमैत्री सेवा प्रवाहको सफल नमुनाका रूपमा प्रस्तुत भएको यस कार्यक्रमले सामाजिक सुरक्षा र पहिचान सुनिश्चितता तर्फ स्थानीय सरकारको सक्रियता र प्रतिबद्धतालाई पुष्टि गरेको छ।

