

गोलन्जोरमा १६ सदस्यीय परिवार सम्पर्क विहिन

सिन्धुली। सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ६ स्थित छेत्पा भण्डास विप्पर कट्टेरी वस्ने उर्मिला हायुको १६ सदस्यीय परिवार सम्पर्क विहिन भएको सूचना सार्वजनिक भएको छ। हाल परिवारको खोजी कार्यमा सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिका प्रशासन सक्रिय रुपमा संलग्न रहेका छन्।
उर्मिला हायु सहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नाति र १ नातिनी गरी कुल १६ जना सदस्य हराईरहेको जनाइएको छ। पछिल्लोपटक परिवारले २०८२ साल श्रावण ६ गते सिन्दुलीको खुर्कोटमा अवस्थित हिमालयन बैंक शाखाबाट सामाजिक सुरक्षा भत्ता बुझेको र श्रावण ९ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गराएको पुष्टि भएको छ।
परिवारसँग अन्तिमपटकको सम्पर्क यी दुई कार्यका क्रममा भएको देखिए पनि त्यसयता उनीहरूको कुनै पनि जानकारी नआएको गाउँपालिकाले जनाएको छ। सम्पर्कविहिन अवस्थाको पुष्टि भएपछि स्थानीय प्रशासन, प्रहरी र नागरिक समाजको सहकार्यमा खोजी कार्य जारी गरिएको छ।
सुरक्षा निकायहरूले सम्भावित स्थानहरूमा खोजी कार्य विस्तार गरेका छन् भने, स्थानीयवासीहरूलाई समेत सूचनाको सञ्जालमा सहभागी गराइएको छ। कुनै पनि व्यक्तिले सम्पर्कविहिन अवस्थामा रहेका व्यक्तिहरूलाई देखे वा थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा गोलन्जोर गाउँपालिका कार्यालयमा खबर गर्न हार्दिक अनुरोध गरिएको छ।
गोलन्जोर गाउँपालिकाका अध्यक्षले भन्नुभयो, “यो अत्यन्तै सम्वेदनशील अवस्था हो। हामी सम्पूर्ण स्रोत साधन प्रयोग गरी हराएका परिवारलाई सुरक्षित अवस्थामा फेला पार्ने प्रयासमा छौं।”

