

चितवनका विभिन्न क्षेत्रमा आजदेखि सुरु भयो लोडसेडिङ, वितरण केन्द्रले सार्वजनिक गर्यो तालिका

चितवन । चितवन जिल्लाका विभिन्न क्षेत्रमा आज (आइतबार)देखि दैनिक ६ घण्टासम्मको लोडसेडिङ सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले अत्यधिक लोड र वितरण संरचनामा आएको सीमित क्षमताका कारण बाध्यतामा लोडसेडिङ गर्नुपरेको जनाएको छ।
प्राधिकरणले दिएको जानकारीअनुसार, रोपाईंको सिजनमा आकाशे पानी नपरेको, तापक्रम अत्यधिक बढेको र सिँचाइ प्रयोजनमा विद्युत् लोड अत्यधिक बढेका कारण उक्त निर्णय गरिएको हो। वितरण केन्द्रका अनुसार नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर तथा जगतपुर-रामपुर फिडरहरूमार्फत विद्युत् आपूर्ति हुने क्षेत्रहरूमा लोडसेडिङको कार्यान्वयन गरिनेछ।
चनौली वितरण केन्द्रअन्तर्गतको भरतपुर १३२/३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टरले अधिकतम ३०० एम्पिएर मात्र विद्युत् प्रवाह गर्न सक्ने क्षमता भए पनि हाल ४५० एम्पिएरसम्मको प्रवाह भइरहेको जनाइएको छ। यसले गर्दा अत्यधिक भारले सिस्टम अस्थिर बनेको र तत्काल नियन्त्रणका उपायस्वरूप लोडसेडिङ गरिएको स्पष्ट पारिएको छ।
यो समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षदेखि नै बसेनी सब स्टेशनमार्फत वैकल्पिक प्रसारण लाइन निर्माण भइरहेको जनाइएको छ। नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बुधबारसम्म चनौली केन्द्रको भार व्यवस्थापन वैकल्पिक उपायमार्फत हल हुने बताए।
उनका अनुसार, पूर्वी चितवनको हर्दीमा निर्माणाधीन २४ मेगावाट विद्युत् संयन्त्रको कार्य सोमबारसम्म सम्पन्न हुनेछ। हर्दी स्टेशन सञ्चालनमा आएपछि भरतपुर, माडी, टाँडी, पर्सा र भण्डारासम्मको विद्युत् भारमा राहत मिल्ने अपेक्षा गरिएको छ।
देवनगर सवस्टेशनबाट ३३ केभीको लाइनमार्फत सिधै जगतपुरमा आपूर्ति बढाउने तयारी भइरहेको र यो कार्य मंगलबार वा बढीमा बुधबारसम्म सकिने जानकारी दिइएको छ।
🔌 लोडसेडिङ तालिका यस्तो छ :
नारायणी-माडी फिडरहरू
बिहान : ६:०० – ९:००
दिउँसो : ३:०० – ६:००
मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू
बिहान : ९:०० – १२:००
बेलुका : ६:०० – ९:००
जगतपुर-रामपुर फिडरहरू
दिउँसो : १२:०० – ३:००
राति : ९:०० – १२:००
प्राधिकरणले सर्वसाधारणलाई पूर्व जानकारीसहित वैकल्पिक ऊर्जा व्यवस्थापन गर्न आग्रह गर्दै समयमै सूचनाको पालना गर्न अनुरोध गरेको छ।

