

छोरी भेट्न गएका कृष्णबहादुर प्रजा मृत अवस्थामा फेला

भरतपुर, चितवन — चितवनको कालिका नगरपालिका–९ शक्तिखोरस्थित जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। राप्ती नगरपालिका–११ निवासी ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ सडेगलेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिएका छन्।
प्रजा गत असार २८ गते कालिका नगरपालिका–९ मा बसोबास गर्ने छोरीलाई भेट्न घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवार र आफन्तहरूले खोजी सुरु गरेका थिए।
हाल घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

