

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा, एलएलडीसी सम्मेलनमा सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघअन्तर्गत हुने तेस्रो भूपरिवेष्ठित विकासशील देशहरूको सम्मेलन (LLDC-3) मा सहभागी हुन साउनको तेस्रो साता तुर्कमेनिस्तानको अभाजा सहर जाँदै छन्। यो सम्मेलन प्रत्येक १० वर्षमा आयोजना गरिन्छ र नेपाललगायत ३० भूपरिवेष्ठित राष्ट्रको सहभागिता रहनेछ।
प्रधानमन्त्री ओली यसअघि असार १५–१९ मा स्पेनको सेभिल्लामा सम्पन्न ‘विकासका लागि वित्त सम्मेलन’ मा सहभागी भइसकेका छन्। संयुक्त राष्ट्रसंघका यी दुवै उच्चस्तरीय सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता दुर्लभ संयोगको रूपमा आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
एलएलडीसीमा सहभागी मुलुकहरू
एसिया: नेपाल, अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान
अफ्रिका: बोत्स्वाना, इथियोपिया, मलावी, माली, नाइजर, युगाण्डा, जाम्बिया, जिम्बावे, चाड, बुर्किनाफासो, इश्वातिनी, रुवाण्डा, दक्षिण सुडान, सेन्ट्रल अफ्रिकल रिपब्लिक, लेसोथो
युरोप: नर्थ म्यासेडोनिया, मोल्दोभा
दक्षिण अमेरिका: बोलिभिया, पाराग्वे
सुरुमा तुर्कमेनिस्तान सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने योजना थियो, तर सम्मेलनको रणनीतिक महत्त्वका कारण प्रधानमन्त्री स्वयं सहभागी हुने निर्णय गरिएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार, अहिलेको तयारी अनुसार प्रधानमन्त्री ओली नै भ्रमणमा जाने पक्का छ, यद्यपि औपचारिक घोषणा भने बाँकी छ। कुनै विशेष राजनीतिक वा प्राकृतिक कारण बाहेक भ्रमण टर्ने सम्भावना न्यून छ।

