

सुनसरीमा भिनाजुद्वारा गोली हानी १८ वर्षीया किशोरीको हत्या

विराटनगर, सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा आइतबार राति करिब १ बजे एक १८ वर्षीया किशोरीको गोली प्रहारबाट हत्या भएको छ।
प्रहरीका अनुसार मृतक किशोरीको नाम अर्सी खातुन हो। प्रारम्भिक अनुसन्धानमा उनलाई उनका भिनाजु, भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले टाउकोमा गोली प्रहार गरेको पाइएको छ। घटनास्थलमै खातुनको ज्यान गएको थियो।
प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार घटनास्थलमा गोलीको एउटा खोका फेला परेको छ भने आरोपी मिया अहिले फरार छन्। उनको खोजी भइरहेको छ।
गोली प्रहारको कारण हालसम्म खुल्न सकेको छैन। घटनास्थल भारतको सिमाना नजिक पर्छ, जसले अनुसन्धानलाई थप चुनौतीपूर्ण बनाएको छ।

