

अरुण गाउँपालिकाको १५औं गाउँसभा बैठक सम्पन्न, रु ५१ करोड ६६ लाखको बजेट सर्वसम्मतिले पारित

भोजपुर । अरुण गाउँपालिकाको १५औं गाउँसभा बैठक भव्य र गरिमापूर्ण वातावरणमा सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष विनिता ढकालद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको रु ५१ करोड ६६ लाख ५६ हजारको बजेटलाई गाउँसभाले सर्वसम्मतिले पारित गरेको छ। उपाध्यक्ष ढकालले आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२ सहित वार्षिक आयव्यय गाउँभाबाट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनुभयो ।
गाउँभाका सभाध्यक्ष शालिकराम खत्रीले पालिकाको समग्र विकासका लागी आ।व। २०८२/०८३ का लागी रु ५१ करोड ६६ लाख ५६ हजारको अलावा सङ्घबाट करिब ३२ करोड र प्रदेशबाट करिब ५ करोड बराबरको योजना तथा कार्यक्रम प्राप्त भएको उल्लेख गर्दै यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिन आव्हान गर्नुभयो । सभाध्यक्ष खत्रीले पालिकाको विकासात्मक पूर्वाधारहरू सडक, विद्युत्, यातायात, सञ्चार, कृषि,पशुपन्छी लगायत क्षेत्रमा प्राथमीकताका साथ काम गरेको बताउनुभयो ।
त्यस्तै बजेटले गाउँपालिकामा महिला, बालबालिका लगायत सबै नागरिकलाई रोजगार, गुणस्तरीय शिक्षा, श्रम, तथा सिप विकास गर्नुका साथै बालश्रममुक्त गाउँपालिका, पुर्ण खोप तथा दिगोपना कायम गर्ने बताउनुभयो ।
पालिकाले प्रवाह गर्ने सार्वजनिक सेवा, सुशासन, पारदर्शी, बजेट खर्च लगायत विषयका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले संक्षिप्तमा जानकारी दिनुभयो ।
सोहि अवसरमा १५ औँ गाउँ सभाको निर्णय सार्वजनीकिकरण तथा हार्दिक आभार कार्यक्रम समेत सम्पन्न भएको छ । गाउँ सभाले पारित गरेको नीति, योजना, कार्यक्रम तथा बजेटको बारेमा कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायतलाई सरोकारवालाहरूलाई जानकारी दिन सो कार्यक्रम आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमिले बताउनुभयो ।
सो बैठकमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को संशोधित योजनाको अनुमोदनसमेत गरियो। बजेट पारित र योजना अनुमोदनसँगै गाउँपालिकाले संस्थागत सुशासन, उत्तरदायित्व र विकासप्रतिको प्रतिबद्धता झल्काउने स्पष्ट संकेत दिएको छ।
कार्यक्रमको समापनसँगै निर्णय सार्वजनिकीकरण तथा धन्यवाद ज्ञापन समारोहसमेत आयोजना गरिएको थियो, जसले जनप्रतिनिधि र प्रशासनबीचको समन्वयलाई अझ सुदृढ बनाएको छ। उपाध्यक्ष ढकालले सबै जनप्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै सहकार्यको भावना व्यक्त गरिन्। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत श्री जितमान जिमीले कर्मचारीहरूको समर्पण र योगदानको खुलेर प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे।
गाउँपालिका अध्यक्ष तथा गाउँसभा सभाध्यक्ष शालिकराम खत्रीले समापन मन्तव्य दिँदै प्रस्तुत बजेट र योजनाहरूको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता जनाए। उनले विकास योजनाको सफल कार्यान्वयनका लागि स्पष्ट मार्गनिर्देशनसमेत दिएका थिए।
यस अवसरमा गाउँपालिकाको तर्फबाट समस्त जनप्रतिनिधि, कर्मचारी, सहभागी समुदाय, पत्रकार साथीहरू, शुभेच्छुक र सबै सरोकारवालाहरूलाई हार्दिक आभार प्रकट गरिएको छ। सक्रिय सहभागिता, समर्थन र योगदानले गाउँसभा सफल र फलदायी बनेको गाउँपालिकाले जनाएको छ।
अरुण गाउँपालिकाले सहकार्य, पारदर्शिता र उत्तरदायित्वका आधारमा समृद्ध र सक्षम स्थानीय शासन निर्माणका लागि निरन्तर सहयोग र सद्भावको अपेक्षा राखेको छ।

