

ग्लोबल आइएमई बैंकद्वारा ‘धान खेती कर्जा’ सार्वजनिक, राष्ट्रिय धान दिवसमा रोपाई कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा कृषकहरूलाई लक्षित गर्दै ‘धान खेती कर्जा’ योजना सार्वजनिक गरेको छ। यो योजना नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेखित धानमा आत्मनिर्भरता हासिल गर्ने रणनीतिसँग मेल खाने गरी सुरु गरिएको हो।
बैंकले कृषकलाई धानको बीउ, मल, कृषि उपकरण तथा अन्य सामग्री खरिदका लागि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरेको छ। यस योजनाले खेतियोग्य जमिनको सदुपयोग गर्दै कृषकको आम्दानी वृद्धि गर्न, कृषि व्यवसायलाई मर्यादित र व्यावसायिक बनाउन सहयोग पुर्याउने बैंकको विश्वास छ।
धान दिवसको दिन टोखा नगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर नजिकको फाँटमा बैंकले धान रोपाई कार्यक्रम समेत आयोजना गर्यो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, बैंकका कर्मचारीहरू तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा रेग्मीले धान उत्पादनमा वृद्धि, कृषिको आधुनिकीकरण र कृषकको मनोबल वृद्धिका लागि बैंकले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। साथै, नयाँ कर्जा योजनाले कृषकलाई थप प्रोत्साहन गर्ने र देशमा धान उत्पादन बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।
ग्राहक लक्षित योजना ल्याउँदै आएको बैंकले हालसम्म ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रहरूबाट सेवा प्रदान गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा मात्र नभई संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, साउदी अरब, भारत लगायत विभिन्न मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरो मनीको ‘अवार्ड फर एक्सलेन्स २०२४’ समेत प्राप्त गरी नेपालकै उत्कृष्ट बैंकको रूपमा पहिचान बनाएको छ।

