

शशांक कोइराला : कांग्रेसका साझा व्यक्तित्व र जनआन्दोलनका साक्षी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय योगदान पुर्याउने प्रतिष्ठित कोइराला परिवारका सदस्य हुन् । नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोरा शशांक बाल्यकालमै भारत निर्वासनमा रहेका थिए ।
पेसागत दक्षताका हिसाबले उनी ख्यातिप्राप्त आँखा रोग विशेषज्ञ हुन् । चिकित्सा पेसाबाट सक्रिय राजनीतिमा प्रवेश गरेका कोइराला २०४६ र २०६३ सालको ऐतिहासिक जनआन्दोलनका क्रममा केही समय प्रहरी हिरासतमा समेत बसेका थिए ।
चिकित्सा क्षेत्रमा अनुभव आर्जेपछि उनले नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिबाट आफ्नो यात्रा सुरु गरे । महासमिति सदस्य हुँदै दुई पटक केन्द्रीय सदस्य बनेका कोइराला पार्टीको १३औँ महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका थिए ।
शशांक : साझा नेतृत्वको आशा
पूर्वमहामन्त्री कोइराला २०६४ र २०७० सालमा संविधानसभा सदस्य बनेका थिए भने २०७४ र २०७९ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आफ्नो जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका छन् ।
सालिन र सरल स्वभावका कारण उनी पार्टीभित्र र बाहिर पनि साझा व्यक्तित्वका रूपमा चिनिएका छन् । उनी प्रजातान्त्रिक मूल्य, सादगीपूर्ण जीवनशैली र इमानदार छविका कारण कार्यकर्ताबीच लोकप्रिय छन् ।
उनको नेतृत्व क्षमताले नेपाली कांग्रेसभित्र नयाँ पुस्ता र पुराना पुस्ताबीचको सेतुका रूपमा काम गरिरहेको धेरैको विश्वास छ । नेपाली राजनीतिमा कोइराला वंशको निरन्तरतामा शशांक कोइराला भविष्यमा समेत प्रभावशाली भूमिकामा देखिन सक्ने अनुमान गरिन्छ ।

