

असार १४ गते नागरिकता विधेयक पारित हुने : गृहमन्त्री लेखकको प्रतिबद्धत
काठमाडौं, असार ११ — गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक यही असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने दाबी गर्नुभएको छ। बुधबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागरिकताको विषय अब ढिला गर्नु नहुने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “मैले पाएको जानकारीअनुसार नागरिकता विधेयक १४ गते प्रतिनिधि सभामा पेस हुँदैछ र सोही दिन पारित हुनेछ। अब यो विषय चाँडै टुंग्याउन आवश्यक छ।”
संसदीय समितिमा छलफल सकिएको र विधेयक संसद्मा पठाउने तयारी भइरहेकाले अब विधेयक पारित हुने वातावरण तयार भएको उहाँको भनाइ थियो।
नागरिकता विधेयक राष्ट्रिय प्राथमिकतामा गृह मन्त्रालय
गृहमन्त्री लेखकले नागरिकता मात्र होइन, प्रहरी सम्बन्धी कानून संशोधन विधेयक पनि सरकारको प्राथमिकतामा रहेको जनाउनुभयो। उहाँले सम्भव भएसम्म असार महिनाभित्रै प्रहरीसम्बन्धी विधेयक पनि समितिबाट पारित गरी संसद्मा पेश गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो।
हाल उक्त विधेयकमाथि समितिमा सैद्धान्तिक छलफल सुरु भइसकेको छ। गृहमन्त्रीले विधायन प्रक्रियालाई तिव्रता दिन सांसदहरू र समितिलाई सक्रियता देखाउन आह्वान गर्नुभयो।
विधेयक पारित भएपछि नेपाली नागरिकता प्राप्त गर्न लामो समयदेखि प्रतिक्षामा रहेका हजारौँ नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, संसद्मा विधेयक पारित हुने वा फेरि पनि अन्य कारणले ढिलो हुने भन्ने विषय भने असार १४ पछि मात्र प्रष्ट हुनेछ।

