

अभिनेता अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म टिमविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । आफ्नो व्यक्तिगत फोन नम्बर अनुमति बिना चलचित्रमा प्रयोग गरिएको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र फिल्म ‘फर्की फर्की’का निर्माण टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
श्रेष्ठले सोमबार वारेसमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्दै चलचित्रमा आफ्नो मोबाइल नम्बर बिना अनुमति समावेश गरिएको, र उक्त नम्बर हटाउन पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गरेका हुन्।
दायर गरिएको रिटमा उनले मानसिक तथा शारीरिक रुपमा क्षति पुगेको दाबी गरेका छन्। फिल्म सार्वजनिक भएपछि उनका निजी सम्पर्कमा असंगत फोनहरू आउन थालेको र यसले निजताको हनन तथा सामाजिक असहजता निम्त्याएको उल्लेख गरिएको छ।
श्रेष्ठले चलचित्र ‘फर्की फर्की’ प्रदर्शन गरिने एमएसएम ओटीटी प्लेटफर्मलाई सम्पर्क गरी आफ्नो नम्बर हटाउन आग्रह गरे पनि कुनै कारबाही नभएको भन्दै न्यायालय समक्ष पुगेका हुन्।
श्रेष्ठले रिटमा अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाँच समिति लगायतलाई विपक्षी बनाएका छन्। उनले कानून अनुसार उचित कारबाही र क्षतिपूर्ति माग गरेका छन्।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले रिट दर्ता भएको पुष्टि गर्दै कानुनी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्।
श्रेष्ठले चलचित्र नियमन गर्ने सम्बन्धित निकायहरूलाई पनि पटकपटक पत्राचारमार्फत जानकारी गराएको तर कुनै सुनुवाइ नभएको आरोप लगाएका छन्। अन्ततः कानुनी बाटो रोज्नु परेको उल्लेख रिटमा गरिएको छ।

