

‘सरकारसँग झोक चल्ने भनेकै लाइन बस्नु पर्दा हो’ — गगन थापा

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वसाधारण नागरिक सरकारसँग असन्तुष्ट हुनुको प्रमुख कारण राज्यसेवामा लाइन बस्नु पर्ने अवस्थालाई मानेका छन्। सोमबार आयोजित कार्यक्रममा बोल्दै थापाले नागरिकको दिनप्रतिदिनको अनुभव राज्यसँगको सम्बन्धमा निराशा उत्पन्न गराउने खालको भएको बताए।
थापाका अनुसार अहिलेको युगमा पनि नागरिकले आधारभूत सरकारी सेवा सुविधाका लागि घण्टौं लाइनमा बस्नुपर्ने अवस्था हुनु दुःखद् हो। “कि लाइनमा बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्छ — यस्तै द्विविधा छ अहिले,” उनले भने।
उनको भनाइमा, यस्तो अनुभवले गर्दा नागरिकको मनमा सरकारप्रति झोक उत्पन्न हुन्छ। “सरकारसँग जहाँ भेट भयो, त्यहीँ रिस उठिहाल्छ,” थापाले उल्लेख गरे, “राज्यसँगको भेट नै न्यून बनाउन सकियो भने नागरिकको झोक पनि घट्छ।”

