

अब काठमाडौंमा खानेपानीको अभाव नहुने मन्त्री यादवको विश्वास

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा अबदेखि २४ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने दाबी गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–४ मा सम्पन्न खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले उपत्यकामा पानीको अभाव अन्त्य हुने बताएका हुन्।
समारोहमा बोल्दै मन्त्री यादवले मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्माण सम्पन्न ट्याङ्की तथा वितरण प्रणाली परीक्षण सफल भइसकेको र अब हिउँद तथा वर्षा कुनै पनि मौसममा मेलम्चीको पानी नियमित रूपमा उपत्यकामा आपूर्ति गरिने जानकारी दिए।
उनका अनुसार, विगतमा माघ महिनामा मात्र मेलम्चीको पानी काठमाडौंमा आउँथ्यो भने अहिले असोज महिनामै पानी आपूर्ति सुरू गरिएको छ।
खानेपानीमा “ख” बाट सुरु हुने दृष्टिकोण : खानेपानी आपूर्तिको दीर्घकालीन योजना
मन्त्री यादवले काठमाडौं उपत्यकावासीलाई स्थायी समाधान दिने उद्देश्यले मेलम्चीको विकल्प पुनः मेलम्ची नै भएको उल्लेख गर्दै, खानेपानी सेवाको स्थायित्वका लागि नयाँ रणनीति निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।
उनका अनुसार आगामी वर्षभित्रमा देशभर ५७ प्रतिशत जनतालाई स्वच्छ र सुरक्षित खानेपानी पहुँचमा ल्याउने लक्ष्य सरकारले लिएको छ।
खानेपानी वितरण सुदृढीकरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको पानी ट्याङ्की परीक्षण सफल भइसकेको छ र अब वर्षायाममा पनि पानी आपूर्तिमा बाधा नहुने मन्त्रीको दाबी छ।
यस्तै, काठमाडौं उपत्यकाका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट थप पानी आपूर्ति गर्ने प्रयास पनि अघि बढाइएको छ।
सरकारले दीर्घकालीन रूपमा स्वच्छ, सुरक्षित तथा दिगो खानेपानी आपूर्ति सुनिश्चित गर्नका लागि प्रविधिमैत्री र वातावरण–मैत्री योजना अवलम्बन गरिरहेको जानकारी पनि उनले दिए।

