

अरुण गाउँपालिका–६ मा ७५% अनुदानमा किसानलाई कृषि सामग्री वितरण

भोजपुर । भोजपुरको पूर्वी क्षेत्रस्थित अरुण गाउँपालिका–६ जरायटारमा एक विशेष कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। कृषकहरूको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन र व्यावसायिक कृषिलाई बढावा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
आर्थिक वर्ष २०८१र८२ को गाउँपालिकाको कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा वितरण गरिएको सामग्रीमा मल्चिङ प्लास्टिक २७ रोल, प्लास्टिक पोखरी निर्माणका लागि प्लास्टिक ८ थान, प्लास्टिक टनेल १२ पिस, र स्पेयर गटर मेसिन १२ पिस समावेश छन्। साथै, सोही अवसरमा खानेपानीका लागि आवश्यक प्लास्टिक पाइपसमेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
कार्यक्रम वडा अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका सदस्य अनिशा बिक, विभिन्न बुद्धिजीवी, समाजसेवी र कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडाध्यक्ष राईले कृषिमा उत्पादनशीलता वृद्धि गर्न यस्ता प्रविधिमैत्री सामग्रीको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि कृषकहरूको जीवनस्तर सुधार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रमले कृषकहरूमा व्यावसायिक कृषि पेशाप्रति थप आकर्षण बढाउने अपेक्षा गरिएको छ।

