

अरुण गाउँपालिका–६ मा विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर, स्वास्थ्य बीमा र शैक्षिक सामग्री वितरण

भोजपुर । अरुण गाउँपालिका–६ जरायोटारमा आयोजित एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत बिपन्न तथा सीमान्तकृत समुदायका घरपरिवारहरूलाई लक्षित गर्दै निःशुल्क विद्युत मिटरबक्स, स्वास्थ्य बीमा, तथा शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रमको प्रमुख आतिथ्य गाउँपालिकाकी उपाध्यक्ष बिनिता ढकालले गर्नु भएको थियो भने अध्यक्षता वडा नं. ६ का वडाध्यक्ष गणेश राईले गर्नुभएको थियो। कार्यक्रममा क।पा। सदस्य मैना राई, वडा सदस्य दीप राज राई लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत वडाका ११ घरधुरी बिपन्न परिवारलाई निःशुल्क विद्युत मिटरबक्स वितरण गरिएको छ। त्यस्तै, गन्धर्व समुदाय, दीर्घरोगी तथा ‘ख’ वर्गका फरक क्षमता भएका नागरिकहरू सहित १३ घरधुरीलाई समेट्दै कुल २८ घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गरिएको वडाध्यक्ष गणेश राईले बताउनुभयो । उहाँका अनुसार वडाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उक्त कार्यक्रमहरू सञ्चालन गरेको हो ।
यसै अवसरमा वडा क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १, २ र ३ का विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरिएको छ। कक्षा १ र २ का विद्यार्थीहरूलाई अंग्रेजी व्याकरण पुस्तक तथा कक्षा ३ का विद्यार्थीहरूलाई सामान्य ज्ञान पुस्तक प्रदान गरिएको हो।
समाजको कमजोर वर्गमा पर्नेको जीवनस्तर उकास्न र शिक्षादेखि आधारभूत सेवासम्म पहुँच सहज बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

