

भोजपुरको पूर्वी अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

भोजपुर । भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आइतबार आयोजित विशेष समारोहमार्फत गाउँपालिकाका सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो।
जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रूपमा पालिकालाई औपचारिक रूपमा घोषणा गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि थुलुङसँगै जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जित्मान जिमी, सातै वडाका वडाध्यक्ष, स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्य शाखा प्रमुख रुपक पुलामी मगरका अनुसार पालिकाले अघिल्ला दिनहरूमा सातै वडाबाट खोप सुनिश्चितताको घोषणा गरिसकेको थियो। हाल जन्मिएदेखि १५ महिनासम्मका ९५ प्रतिशतभन्दा बढी बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्रदान गरिएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गरिएको हो।
पालिका अध्यक्ष शालिकराम खत्रीले खोप अभियानमा कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यसहित महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरूको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जिल्ला समन्वय समितिका सभापति थुलुङले गाउँपालिकालाई बधाई दिंदै खोप सुनिश्चितता तथा दिगोपनाको अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो। साथै उहाँले पालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो।
कार्यक्रममा पालिकाका सातै वडाका स्वास्थ्य चौकी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। साथै खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरिएको थियो।
पूर्वी अरुण गाउँपालिका भोजपुर जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने तेस्रो पालिका बनेको छ। यसअघि भोजपुर नगरपालिका र हतुवागढी गाउँपालिका पूर्ण खोप पालिका घोषणा भइसकेका छन्।
“खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ।”

