

अरूण गाउँपालिकाका खेलाडीहरूलाई राष्ट्रपति रनिङ शिल्डमा सफलता, गणतन्त्र दिवसमा सम्मान

भोजपुर । १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा अरूण गाउँपालिकाको प्रतिनिधित्व गर्दै सहभागी भएका छात्र-छात्राहरूले जिल्लामा दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनप्रति सम्मान जनाउँदै गाउँपालिकाले विशेष स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।
सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
गाउँपालिका स्तरीय प्रतियोगितामा स्वर्ण पदक जितेका साथै जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिने भएको छ।
उक्त सम्मान कार्यक्रम आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा बिहान ११ बजे शारदा माध्यमिक विद्यालय, प्याउलीको सभाहलमा आयोजना गरिने जानकारी गराइएको छ। कार्यक्रममा सबै सम्बन्धित पक्षहरूको उपस्थितिका लागि गाउँपालिकाले विशेष अनुरोध गरेको छ।

