

अरुण गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको तयारी, स्थानीयको बहुप्रतीक्षित माग पूरा हुँदै

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा निर्माण सम्पन्न भएको १५ शैयाको अस्पताल अब चाँडै सञ्चालनमा आउने तयारीमा रहेको छ। स्थानीय बासिन्दाको लामो समयदेखिको स्वास्थ्य सेवा सम्बन्धी मागलाई सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको यो अस्पताल सञ्चालनको पूर्वतयारीस्वरूप हालै विशेष अनुगमन तथा सर्वोक्षण गरिएको हो।
अनुगमनमा गाउँपालिका अध्यक्ष शालिकराम खत्रीसहित गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्रा.डा. भुपेन्द्र बस्नेत, शिक्षाध्यक्ष प्रा।डा। लोचन कार्कीसहित विभिन्न विभागका विशेषज्ञ डाक्टरहरूको टोलीको सक्रिय सहभागिता रहेको थियो। टोलीले अस्पतालको भौतिक संरचना, उपकरणहरूको अवस्था, सफाइ, सेवा विस्तारको सम्भाव्यता र मानव स्रोतको उपलब्धता सम्बन्धी विस्तृत अध्ययन तथा मूल्याङ्कन गरेको हो।
यो अस्पताल सञ्चालनमा आएपछि अरुण गाउँपालिका र आसपासका स्थानीयवासीहरूलाई आधारभूतदेखि आकस्मिक सेवा सम्म सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने पालिका अध्यक्ष खत्रीले बताए । अहिलेसम्म सामान्य उपचारका लागि टाढासम्म धाउनुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीहरूले अस्पताल सञ्चालनलाई एक ऐतिहासिक उपलब्धि र विकासको महत्वपूर्ण पाटोको रूपमा लिएका छन्।
गाउँपालिकाले अस्पतालको सेवा प्रभावकारी र दिगो बनाउन आवश्यक जनशक्ति, उपकरण तथा प्रविधि व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य क्षेत्रमा गरेको यो लगानीले अरुण गाउँपालिकाको समग्र सामाजिक विकासमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।

