

आजदेखि अरुण गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालनमा

भोजपुर । दृष्टि समस्याबाट पीडित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अरुण गाउँपालिकाले आजदेखि दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले शिविरको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य सेवा पहुँचविहीन वर्गसम्म पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
शिविरको आयोजना अरुण गाउँपालिका प्याउली, भोजपुरले गरेको हो भने प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, रानी, विराटनगरले प्रदान गरेको छ। साथै, नेपाल नेत्रज्योति संघ भोजपुर र अरुण आँखा उपचार केन्द्रको सहकार्यमा बैशाख २३ गतेदेखि २४ गतेसम्म गुरुकुल भवन, प्याउलीमा शिविर सञ्चालन हुँदैछ।
शिविरमा अनुभवी चिकित्सकहरूको टोलीले स्थानीयवासीहरूको आँखाको परीक्षण गरिरहेका छन्। परीक्षणपछि शल्यक्रिया आवश्यक देखिएका बिरामीलाई तत्कालै निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीका अनुसार, यो शिविर विशेष गरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो, जसले दृष्टि गुमाउने जोखिममा रहेका व्यक्तिहरूलाई पुनः उज्यालो संसार देख्न सक्ने अवसर दिनेछ।
स्थानिय बासिन्दाहरूले गाउँपालिकाको यस प्रयासलाई अत्यन्तै सराहनीय बताउँदै निरन्तर यस्ता स्वास्थ्य सेवाहरू उपलब्ध गराउन आग्रह गरेका छन्। साथै, गाउँपालिकाले सम्पूर्ण नागरिकलाई आँखाको स्वास्थ्यलाई प्राथमिकता दिन र नियमित परीक्षण गराउन अनुरोध गरेको छ।
फोटो फिचरहरु:

