

भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौँ । भारतमा भएको सवारी दुर्घटनामा ५ जना नेपालीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार बिहार राज्यको सहर मुज्फरपुरमा भएको उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
धनुषासँगको सीमा नजिकै पर्ने स्थानमा भएको दुर्घटनाबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको थियो । दुर्घटना शनिबार नै भएको र मृतकहरु कुम्भ मेलामा गएर फर्किँदै गरेकाहरु भएको एक प्रहरी अधिकारीले बताए ।
उनका अनुसार मोतीहारी हर्दिया र जनकपुरका अर्चना ठाकुर, कनतारनीदेवी, बालकृष्ण झा र इन्दु देवीको मृत्यु भएको छ । अर्का चालकको भने नाम खुलेको छैन । दुर्घटनामा मनोहर ठाकुर कामिनी झा श्रष्टि ठाकुर र जगतारण देवी घाइते भएका छन् ।
बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मृतक र घाइतेहरु महोत्तरीको हर्दिया र धनुषाको जनकपुरका भएको धनुषा प्रहरीको भनाइ छ । प्रहरीले तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।

