

‘एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली’

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक सम्भावनाको क्षेत्र भएको बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा हिजो वीरेन्द्रनगरमा आयोजित ४१ औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मूल्यवान् कृषि, पर्यटन, जल, जङ्गल र जडीबुटी तथा भाषा, संस्कृति र पुरातत्वका हिसाबले कर्णाली प्रदेश प्रशस्त सम्भावनाको स्रोत भएको बताए ।
उनले भने, “मुगु रारालाई सिरानमा राखेर कर्णाली करिडोर र डोल्पाको शे–फोक्सुण्डोलाई सिरानमा राखेर भेरी करिडोरमार्फत धेरैभन्दा धेरै मान्छे त्यहाँ लिन सकिन्छ ।”
हराउने खालको नभई देखिने तीन क्षेत्र, कृषि, पर्यटन र लघु घरेलु उद्योगहरूमा परम्परागत सीपलाई पुस्तान्तरण गरेर रोजगार सिर्जना गर्नेदेखि आर्थिक क्रियाकलाप बढोत्तरी गर्ने सोचअनुसार प्रदेश सरकारले आगामी वर्षदेखि योजनाबद्ध ढङ्गले अगाडि बढ्ने र चालु आर्थिक वर्षमा पनि आवश्यक बजेट विनियोजन गरी आर्थिक विकास गर्न सकिने उनको भनाइ थियो ।
मगन्तेका रूपमा नभई आवश्यकता आधारमा सूची बनाएर चार लेनको कोहलपुर–सुर्खेत, दुई लेनको सुर्खेत–हिल्सा, सुर्खेत–डोल्पा, गमगढी–सिमकोट, भेरी पम्पिङ, जाजरकोट रुकुमपश्चिममा भूकम्पको पुनः निर्माण र सुर्खेत विमानस्थल विस्तार गरी यहाँदेखि हिमाली जिल्लामा हवाई सेवा दिनुपर्ने कुराको पैरवी सङ्घीय सरकारसँग भइरहेको जिकिर गर्दै उनले प्रदेश सरकारले आफ्नो क्षेत्रबाट गर्ने प्रयत्न गरेको जनाए ।
कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खनिज, जलस्रोत, पूर्वाधारको विकास र निर्माणका बारेमा तयार गरिएको उद्योग वाणिज्य सङ्घको प्रतिवेदनमा समाविष्ट विषयहरू प्रदेश सरकारका लागि सन्दर्भ सामग्री हुने भन्दै मुख्यमन्त्री कँडेलले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने आश्वासन दिए ।
प्रदेश सरकार मन्त्री, सचिव, कर्मचारी र निर्माण व्यवसायीलाई सँगै राखेर पुरस्कार लिनेगरी आफ्नो जिम्मेवारी पूरा गर्नूस् काम गर्न अतिरिक्त शुल्क कसैले तिर्न पर्दैन भनेर स्पष्टसँग भनेको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सरकार सफल हुनुमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । सरकार, निजी क्षेत्र र सहकारीको साझा प्रयासबाट मुलुकको विकास र समृद्धि हुन सक्ने उनको भनाइ थियो ।
उक्त साधारणसभामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, उद्योगी, व्यवसायी तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।

