

तिहारको बिदा सकिए लगतै कोशी प्रदेशमा लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौं । कोशी प्रदेशमा लगातार चार दिन सार्वजनिक बिदा परेको छ । आगामी बिहीबारदेखि आइतबारसम्म बिदा परेको हो ।
तिहारको पाँच दिन लामो बिदा सोमबार मात्रै सकिएको छ । मंगलबारदेखि सरकारी कार्यालयहरू खुलेका छन् । मंगलबार र बुधबार दुई दिन कार्यालय खुल्ने छन् । सार्वजनिक बिदाका कारण बिहीबारदेखि आइतबारसम्म बन्द रहने छन् ।
छठ पर्व मनाउनका लागि प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ । छठका लागि संघीय सरकारले बिहीबार बिदा दिएको छ । कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशका १४ वटै जिल्लामा छठ समापनको बिदा दिएको हो । सूर्यदेवको उपासना गर्दै ४ दिनसम्म मनाइने छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिने छ ।
कात्तिक २४ गते अर्थात शनिबार त्यसै पनि सार्वजनिक बिदा हो । प्रदेश सरकारले कात्तिक २५ गते आइतबार राष्ट्रिय विभूति एवं किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

