

मुलुकका ७७ जिल्ला मध्य ७६ जिल्लासम्म फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौँ । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडिसिडीको पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेको ईडिसिडीले जनाएको छ ।
डेङ्गु सङ्क्रमण मुलुकका ७७ जिल्ला मध्य ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।
दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ । विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो ।
यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । जटिल लक्षण वा समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

